दक्षिण कोरियाको फराकिलो जित,,,

June 7, 2021 606

एजेन्सी – फिफा विश्वकप कतार २०२२ तथा एसियन कप २०२३ को एसियन छनोटमा दक्षिण कोरियाले तुर्केमिनिस्तानमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ ।

गोयाङ स्टेडियममा शनिबार साँझ भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा ह्वाङ उइ जोले दुई तथा ताई हि नाम, योङ जिओन किम र चाङ हुन क्वानले समान एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।

खेलको नवौं मिनेटमा ह्वाङ उइ जोले गोल गर्दै दक्षिण कोरियालाई १–० को अग्रता दिलाए । ४५औं मिनेटमा ताई हि नामले गोल गर्दै दक्षिण कोरियाको अग्रता दोब्बर पारे । ५६औं मिनेटमा योङ जिओन किमले गोल गरेपछि दक्षिण कोरिया ३–० ले अघि बढ्यो । ६२औं मिनेटमा चाङ हुन क्वोनले गोल गर्दै दक्षिण कोरियालाई ४–० ले अघि बढाए ।

७२औं मिनेटमा ह्वाङ उइ जोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै दक्षिण कोरियालाई ५–० को फराकिलो जित दिलाए । जितपछि समूह ‘एच’ मा रहेको दक्षिण कोरिया ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित तुर्केमिनिस्तान ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा लेवनानले श्रीलंकालाई ३–२ ले पराजित गरेको छ । लेवनानको जितमा जोन ओउमारीले दुई तथा मोहम्मद केडाउले एक गोल गरे । श्रीलंकाका एहमेद वासिम राजिकले दुवै गोल गरेपनि हार टार्न सकेन ।

लेवनान १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको दक्षिण कोरियासँग समान अंक भएपनि लेवनान गोल अन्तरमा पछि छ । अंकविहीन श्रीलंका पुछारमा छ ।

प्रतिकृया दिनुहोस्